काठमाडौं । कीर्तिपुरमा बालिका बलात्कारका अभियुक्त रोशनकुमार शर्मा कारागार चलान भएका छन् । १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा १९ वर्षीय किशोरलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
शर्मालाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको प्रहरी वृत्त, कीर्तिपुरले जानकारी दिएको छ । पीडितकी आमाको जाहेरीका आधारमा प्रहरीले मुद्दा चलाएको थियो । पीडित बालिकाकी आमाले दिएको जाहेरीमा बालिकामाथि ३ दिनसम्म पटक पटक बलात्कार गरेको उल्लेख छ ।
रोशन साथीसँग कीर्तिपुरमा डेरा बस्दथे । उनका साथीमाथि पनि जबरजस्ती करणी उद्योगमा कानुनअनुसार कारबाही माग गर्दै ती बालिकाकी आमाले जाहेरी दिएकी थिइन् । तर, जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले पीडकका साथीमाथि भने मुद्दा नचलाउने निर्णय गरेको थियो ।
प्रहरीका अनुसार शर्माविरुद्ध यसअघि जिल्ला अदालत, भक्तपुरमा समेत बलात्कार मुद्दा चलेको थियो । पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा भक्तपुर जिल्ला अदालतले चार महिना कैद र ५ हजार रुपैयाँ जरिमाना गर्ने फैसला सुनाएको थियो ।




