पश्चिम नवलपरासी । प्रतापपुर गाउँपालिकामा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा र रुवेला विरुद्धको खोप अभियान २१ गतेदेखि सबै वडामा सुरु हुने भएको छ ।
सोमबार दादुरा र रुवेला विरुद्धको खोप अभियान अन्तर्गत पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुलाई दादुरा रुबेला खोप अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रममा जानकारी दिइएको हो ।
उक्त कार्यक्रममा जनप्रतिनिधि, समाजका अगुवा, विद्यालयको प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि र संचारकर्मी कार्यक्रममा सहभागिता भएका थिए ।
पालिकाको सबै वडामा फागुन २१ गतेदेखि २८ गतेसम्म खोप संञ्चालन गर्ने तयारी गरेको स्वास्थ्य शाखाका प्रमुख मन्तोष कुशवाहाले जानकारी दिए ।
वडा वडामा बैठक र छलफल गरी खोप लगाउने केन्द्रको निर्णय गरी खोप केन्द्रहरु वडा कार्यालयले सार्वजनिक गरिने जनस्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थीले बताए ।
वडाको सबै विद्यालयहरुमा खोप केन्द्र राखिएको छ । दादुरा रुबेला विरुद्धको खोप अभियान जिल्लामा दुई चरणमा संचालन हुनेछ ।
जिल्लाको सुनवल, रामग्राम र पाल्हिनन्दनमा १३ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप संचालनमा छ भने सरावल, बर्दघाट, प्रतापपुर र सुस्तामा नियमित खोपका कारण २१ गतेदेखि संचालनमा ल्याइने जिल्ला जन स्वास्थ्यका प्रमुख पन्थीले बताए ।
दादुरा र रुवेला विरुद्धको खोप जिल्लामा १ लाख ५ हजार ४ सय ५९ बालबालिकाहरुलाई खोप लगाइने लक्ष्य लिएको उनले बताए । यसअघि दादुरा रुबेला विरुद्धको खोप लगाउनबाट जिल्लामा ४ सय ७३ जना बालबालिका छुटेको थिए जुन १ सय ४३ जना बालबालिका प्रतापपुर गाउँपालिकाका रहेको पन्थीले जानकारी दिए ।




