काठमाडौं । मधेस प्रदेशका तीन पालिकाहरुले अझै बजेट ल्याएका छैनन् । प्रदेशमा रहेका १ सय ३६ स्थानीय तहहरूमध्ये तीन वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन सकेका छैनन् ।
मधेस प्रदेशमा रहेको रौतहटको फतुवा विजयपुर नगरपालिका, सर्लाहीको हरिपुर्वा नगरपालिका र सर्लाहीकै चन्द्रनगर गाउँपालिकाले हालसम्म पनि चालु आवको बजेट ल्याउन सकेका छैनन् ।
देशभरी रहेका कुल ७ सय ५३ स्थानीय तहहरूमध्ये ७ सय ५० वटा स्थानीय तहहरुले आ-आफ्नो पालिकाको बजेट ल्याएका छन् । चालु आर्थिक वर्ष सुरु भएको ८ महिनासम्म बितिसक्दा पनि मधेसका तीन पालिकाले बजेट पेश गर्न सकेका छैनन् ।
समयमा नै बजेट नल्याउदा प्रदेश र संघ सरकारबाट पाएको अनुदान समेत ती पालिकाहरूले खर्च गर्न नपाउने ब्यवस्था रहेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले असार १० भित्र बजेट ल्याउनु पर्ने र असार मसान्तसम्ममा पास गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको छ ।
असार १० गतेभित्रमै बजेट ल्याउन नसके पनि कम्तीमा असार महिना सकिनुभन्दा अघि नै नगरगाउँ सभाबाट बजेट पास गरिसक्नु पर्ने ब्यवस्था रहेको छ ।




