बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले रामनगर स्थित धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा पानी चुहिन थालेको छ । तीन दिनदेखिको झरीका कारण आईसीयू कक्षमा पानी चुहिएको हो ।
आईसीयू कक्षमा पानी चुहिएर जलमग्न भएपछि नर्सहरूले बाल्टीमा उठाएर पानी फाल्ने गरेका छन् । पुराना भवनमा तयार गरिएको आइसीयू कक्षमा गत वर्ष पनि पानी चुहिएको थियो ।
एक नर्सका अनुसार यस पटक पानी धेरै चुहिएको र आईसीयू नै जलमग्न भएको छ । उनले भनिन्, ‘पानी चुहिएपछि बाल्टीले उठाउँदै फाल्दै बसेका छौं । गत वर्ष पनि पानी पर्दा मर्मत गर्न भनिए पनि मर्मत नभएकाले बिरामीले समेत दुःख पाए । अहिले पनि उस्तै छ ।’
त्यहाँ अहिले १३ जना बिरामीले उपचार सेवा लिइरहेका छन् । कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. नन्दु पाठकले पुरानो भवन भएका कारण पानी चुहिएको बताए ।






