ताप्लेजुङ । पाथिभरा (मुक्कुमलुङ) क्षेत्रमा केवलकार बनाएमा प्रत्यक्ष रूपमा आफूहरू पनि प्रभावित हुने भन्दै जिल्लाका यातायात व्यवसायीहरूले निर्माणको प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका छन् ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै पाथीभरा क्षेत्रमा केवलकार बनाएमा स्थानीय रैथाने आदिवासीहरूको संस्कृतिक अधिकारको अतिक्रमण हुने भन्दै सो प्रति आफूहरू पनि प्रतिबद्ध रहेको जनाइएको हो ।
साथै विभिन्न यातायात व्यवसायमा आबद्ध सम्पूर्ण सदस्यहरूको यो ऐकबद्धता केवल विज्ञप्तिमा मात्र सीमित नहुने पनि जनाइएको छ । यदि उक्त क्षेत्रमा केवलकार बनाएर यातायात व्यवसायमाथि धावा बोल्ने रणनीति बनाइए यातायात व्यवसायी कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी उनिहरुको रहेको छ ।
यातायात व्यवसायीले दैनिक हजारौं श्रद्धालु भक्तजनलाई सेवा दिदैँ आएको अवगत गराउँदै एउटा निजी कम्पनीको लागि सीमित व्यक्तिको स्वार्थ पूर्ति गर्न राज्यले सम्पूर्ण शक्तिको परिचालन गरेर केवलकार बनाउन लागेको षड्यन्त्र प्रति आफूहरूको गम्भीर आपत्ति रहेको स्पष्ट पारिएको छ ।
आफूहरूको व्यवसायलाई प्रभाव पार्ने र स्थानीयको माग विपरीत केवलकार बनाए जस्तोसुकै संघर्ष गर्न आफूहरू तयार रहेको भनिएको छ । साथै उक्त अवस्था उत्पन्न हुने परिस्थितिको जवाफदेही सरकार, प्रशासन, केवलकार कम्पनी र तिनका मतियार हुने विज्ञप्तिमा भनिएको छ ।
केवलकार निर्माण भएमा परम्परागत मूल्य र विशेषता समाप्त हुने र मुक्कुम्लुङ दर्शनको सार्थकता पनि नहुने भन्दै केवलकार निर्माण भएको खण्डमा विभिन्न क्षेत्रमा नकारात्मक प्रभाव पर्ने पनि औल्याइएको छ । विज्ञप्ति जिल्लाका १३ वटा यातायात व्यवसायी संघहरूले संयुक्त रूपमा जारी गरेका हुन् ।




