पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा हजुरबुवा र नातीको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवा बस्ने २९ वर्षिय अजय धरिकार र सोही ठाँउ बस्ने २० वर्षिय चन्दन हरिजन रहेको प्रहरीले जनाएको छ ।
फागुन १ गते सुस्ता गाउँपालिका वडा नं ३ मर्चहवा स्थितमा अक्षयलाल चमार र निजको नाति गौचरण चमारको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।
हत्या भएको हजुर बुवा र नातीको चमारको शरीरमा विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको घाउहरु भएको दुवै जनाको शव मृत अवस्थामा भेटिएपछि उक्त घटना स्थलमा बाया हातमा लगाउने हाफ पन्जा फेला परेको र अनुसन्धानका क्रममा तालिम प्राप्त कुकुर समेत परिचालन गपरएको थियो ।
घटनाको ३ दिनपछि केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीको प्रहरी टोलीले गरेको अनुसन्धानको क्रममा निजहरुको संलग्नता देखिएको हो ।
अभियुक्त दुबै जनालाई शनिबार पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलाटारी मार्फत जिल्ला अदालत परासीबाट ज्यान सम्बन्धि कसुर मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।




