दाङ । दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा बसमा सवार रहेका २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।
गम्भीर रूपमा घाइते हुनेमा गढवा गाउँपालिका २ का लक्ष्मण थारू र राप्ती गाउँपालिका २ लालमटियाका ७८ वर्षीय चन्द्र कमल थापा हुन् । थारू दुर्घटनामा परेको एक बसका चालक छन् । उनीहरूलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
लमही नगरपालिका ३ वनगाउँमा दुईवटा बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । सामान्य घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । बुटवलबाट सुर्खेत जाँदै गरेको लु १ ख ७३६३ नं को बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको यात्रुवाहक बस आज आपसमा ठोक्किँएर दुर्घटना भएको थियो ।




