काठमाडौं । सिन्धुलीमा कार र हायस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका वडा नम्बर ७ मा कार र हायस ठोक्किएका थिए ।
कटारीबाट भिमान जाँदै आउँदै गरेको बा ५ ख ७३० नम्बरको हायस र भिमानबाट कटारी जाँदै गरेको बा ७ च ९७९० नम्बरको कार एक आपसमा जुधेका थिए ।
दुर्घटनामा परेर घाइते हुनेमा काठमाडौं महानगरपालिका ३२ की ४८ वर्षीय रञ्जु कुमारी घिमिरे, सुनसरीको दुहबी नगरपालिका ४ का ५२ वर्षीय देवी आचार्य, ललितपुरको महालक्ष्मी नगरपालिका ३ का ३४ वर्षीय नीरज खड्का, ३२ वर्षीया निशा पोखरेल, ५ वर्षीय त्रिसन खड्का रहेका छन् ।
यस्तै मोरङको बेलबारी नगरपालिका ३ की ३६ वर्षीया रिता राई, विराटनगर महानगरपालिका १९ की ४१ वर्षीया शारदा श्रेष्ठ, बेलबारी नगरपालिका ६ की २१ वर्षीया प्रतिठा चौधरी, २३ वर्षीया प्रिया लिम्बु, २ वर्षीय यन्सु हाङमा लिम्बु, उदयपुरको कटारीकी २१ वर्षीया सज्नु थापामगर पनि घाइते भएका छन् ।
घाइतेहरूको कटारी अस्पताल, सिन्धुली अस्पताल, प्रयाग पोलिक्लिनीक लगायतका अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि जनाइएको छ ।




