एजेन्सी । के तपाईंले कहिल्यै सोच्नुभएको छ कि गर्मीमा किन सर्पहरू आफ्नो प्वालबाट बाहिर आउँछन् ? यो सिजनमा किन बढ्छ सर्पले टोक्ने घटना ? सर्पहरू चिसो रगत भएका जनावर हुन् । यसको मतलब तिनीहरूले आफ्नै शरीरको तापक्रम कायम राख्न सक्दैनन् ।
चिसो दिनमा पर्याप्त ऊर्जा नपाउँदा सर्पको मेटाबोलिज्म निकै सुस्त हुने भएकाले न त छिटो दौडन सक्छ न त शिकार गर्न । त्यसैले धेरैजसो समय सुतेर बिताउँछ । सर्पले सङ्कलन गरेको ऊर्जा भण्डारण गर्ने प्रयास गर्छ । तर, गर्मी सुरु हुने बित्तिकै तापक्रम बढ्दै जाँदा तिनीहरू आफ्नो प्वालबाट बाहिर निस्कन्छन् ।
गर्मीमा सर्पलाई पर्याप्त ऊर्जा प्राप्त हुने र मेटाबोलिजम बढेको हुनाले तिनीहरू हाइपरएक्टिभ हुन्छन् । तिनीहरू शिकारको खोजीमा निस्कन्छन् र प्रजनन पनि गर्छन् । तापक्रम बढ्दै जाँदा सर्पको शरीर पनि तात्न थाल्छ, जसले गर्दा मृत्युसमेत हुन सक्ने विज्ञहरू बताउँछन् ।
त्यसैले तापक्रम बढेसँगै सर्पहरू चिसो ठाउँको खोजीमा आफ्नो प्वालबाट बाहिर निस्किएर बसोबास गर्ने क्षेत्र वरिपरि देखिन थाल्छन् । विज्ञान दैनिकका अनुसार गर्मीमा दैनिक तापक्रम हरेक डिग्री सेल्सियस बढेसँगै सर्पले टोक्ने सम्भावना ६ प्रतिशतले बढ्छ ।




