काठमाडौं । ४ लाख घुससहित पक्राउ परेका ४ कर्मचारीमध्ये विशेष अदालतले दुई जनालाई दोषी करार गर्दै सजाय सुनाएको छ । यस्तै दुई जनालाई निर्दोष ठहर गरेको छ । गत असारमा ग्रामिण सडक सुधार आयोजना, आयोजना कार्यान्वयन इकाइ झापा (दमक) का ४ जना कर्मचारीलाई चार लाख घुससहित अख्तियारले पक्राउ गरेको हो ।
ती मध्ये दुईलाई दोषी र दुईलाई निर्दोष भएको विशेषले फैसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं र इटहरीबाट खटिएको संयुक्त टोलीले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाइ झापा (दमक) का आयोजना व्यवस्थापक (सिडिई) हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेललाई पक्राउ गरेर अख्तियारले गत वर्ष ७ साउनमा मुद्दा चलाएको थियो ।
सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरेवापत घुस रकम माग गरेका थिए । घुस रकम लिइसकेको अवस्थामा दमक नगरपालिका ५ आदर्श टोलस्थित कार्यालयको कम्पाउण्डबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो । जसमध्ये दुई कर्मचारीले विशेष अदालतबाट सफाइ पाएका हुन् ।
आठ महिना अघि ४ लाख घुससहित पक्राउ परेका ४ कर्मचारीमध्ये विशेषका न्यायधीशत्रय तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले दुई जनालाई सफाइ र दुई जनालाई आठ आठ महिना कैद सजाय सुनाएको हो । सफाइ पाउनेमा ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाइ झापाका आयोजना व्यवस्थापक (सिडिई) हुतराज चौहान र इन्जिनियर धर्मेन्द्रकुमार झा रहेका छन् ।
यस्तै आयोजनाका इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाइै दोषी ठहर गरेको हो । ठेक्का सम्झौता अनुसारको निर्माण कार्यको अन्तिम बिल भुक्तानीबापत चार लाख रुपैयाँ घुस लिएको ठहर विशेषले गरेको छ । उनीहरूलाई आठ आठ महिना कैदका साथै जनही दुई लाख रुपैयाँ बिगो बराबर जरिवाना हुने फैसला भएको हो ।




