काठमाडौं । बंगलादेश सरकारले नेपाल सरकारलाई एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रदान गरेको छात्रवृतिमा चलखेल भएको छ । बंगलादेश अध्ययनका लागि सिफारिस भएर जान नपाएका विद्यार्थी र उनीहरुका अभिभावकहरुले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी छात्रवृतिमा चलखेल भएको खुलासा गरेका हुन् ।
उनीहरुका अनुसार बंगलादेश सरकारले नेपाल सरकारलाई सन् २०२४ मा १९ जना एमबीबीएस र ३ जना बीडीएस अध्ययनका लागि छात्रवृति प्रदान गरेको थियो । बंगलादेश सरकारले प्रदान गरेको छात्रवृतिमा विद्यार्थी पठाउनका लागि शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई विद्यार्थी छनोटको जिम्मा दियो ।
चिकित्सा शिक्षा आयोगले परीक्षा सञ्चालन गरेर १९ जना एमबीबीएस र ३ जना बीडीएस अध्ययनका लागि सरकारलाई सिफारिस गरेको थियो । चिकित्सा शिक्षा आयोगले सिफारिस गरेर पठाएका नाममध्ये एमबीबीएसतर्फ ९ जना र बीडीएसतर्फ १ जनामा अरुकै नाम हालेर पठाइएको उनीहरुले बताए ।
बंगलादेशको चिकित्सा शिक्षा महानिर्देशनालय ९डीजीएमई० ले प्रकाशन गरेको नाम लिष्टमा सिफारिस गरेर पठाइएकोहरुको भन्दा अरूकै नाम समावेश छ । यसरी छात्रवृतिमा सिफारिस भएरपनि जान नपाउनुमा चिकित्सा शिक्षा आयोगले सिफारिस गरेर पठाएपछि नाम हेरफेर भएको पीडितहरुको आशंका छ ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएसतर्फ लिएको परीक्षा उत्तीर्ण भई सिफारिस भएरपनि राहुल साह, देवशेखर रौनियार, पारस कठायत, आर्शिवाद झा, अनुकुमारी साह, अमृता कुमारी, ललनकुमार दास र पुनम चुनारको नाम हटाएर पठाइएको पाइएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको छात्रवृति शाखाले समेत उनीहरुकै नाम सिफारिश गरेको थियो ।
उनीहरुको ठाउँमा चिकित्सा शिक्षा आयोगको सिफारिसमा नपरेका आशिषकुमार साह, असन जमाल, एमडी मसुम अनसारी, गौरव झा, आशिष अधिकारी, आदित्य महतो, नेहा अन्सारी, अभिशेक साह र आदर्श कुमार यादवको नाम परेको छ ।
त्यस्तै, बीडीएसतर्फ पनि आयोगको सिफारिसमै नपरेका आशिषकुमार साहले छात्रवृत्तिमा स्थान पाएका छन् । यसरी, आफूहरुलाई आयोगले अध्ययनका लागि सिफारिस गरेर पनि चलखेलका कारण पढ्न जान नपाएकोमा विद्यार्थीहरुले दुःख पोखे । उनीहरुले आफूले पढ्न जान पाउनु पर्ने र उक्त कुराको जिम्मेवारी राज्यले लिनुपर्ने बताए ।
सिफारिस भएरपनि एमबीबीएस अध्ययनका लागि बंगलादेश जान नपाएका पारस कठायतले बंगलादेश गएर अध्ययन गर्न पाउनु पर्ने बताए । साथै, आफूहरु बंगलादेश गएर अध्ययन गर्न नपाउँदै गर्दा सरकारले नेपालमै छात्रवृतिमा अध्ययन गराउनु पर्ने उनको माग छ ।
पारस कठायतका अभिभावक सिद्धिप्रसाद ढुङ्गानाले चिकित्सा शिक्षा आयोगले छनोट गरेर पठाएका विद्यार्थीहरु एमबीबीएस र बीडीएस अध्ययन गर्न पाउने अवसरबाट बञ्चित हुन नहुने बताए ।
सकभर उनीहरुलाई बंगलादेशमै अध्ययन गर्ने अवसर मिलाइनु पर्ने र यदि त्यो सम्भव नहुँदा नेपालमै छात्रवृतिमा अध्ययनको अवसर प्रदान गरिनुपर्ने बताए । साथै, विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुलाई उनले यो मुद्दा उठाएर सहयोग गर्न अपील समेत गरेका छन् ।




