सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बनदेउ चौतारा सडकको जल्केनीमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र टिपर एकआपसमा अनियन्त्रित भई मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको हो ।
बनदेउबाट चौतारातर्फ जाँदै गरेको प्रदेश ३-०२-००६ प ९५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०१-००६ ख २७१६ नम्बरको टिपर जल्केनी मोडमा भेट हुँदा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चौतारा साँगाचोकगढी नगरपालिका ७ की इन्दिरा अधिकारी रहेकी छन् । उनी श्रीमान् सन्तोष दुलालले चलाएको मोटरसाइकलको पछाडि सवार थिइन् ।
अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल लगिएको र अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
मोटरसाइकल चालक सन्तोष घाइते छन् । टिपर चालक चौतारा साँगाचोकगढी नगरपालिका ११ का मनोहरी गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




