बुटवल । एम्बुलेन्सको ठक्करबाट बुटवलमा एक जनाको मृत्यु भएको छ । बुटवलको बेलवासमा पैदलयात्रीलाई एम्बुलेन्सले ठक्कर दिँदा थप दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ बस्ने कमला नेपाली छन् भने बुटवल ११ कै ५५ वर्षीय हरिकला नेपाली र ३५ वर्षीय झुपा ठडराई घाइते छन् ।
अर्घाखाँचीबाट बिरामी लिएर बुटवल आउँदै गरेको जिल्ला अस्पताल अर्घाखाँचीको लु १ ज ५३१ नम्बरको एम्बुलेन्सले शनिबार बिहान ५ बजे बुटवल उपमहानगरपालिका वडा नं. १३ झोलुंगेपुल नजिकै ३ जनालाई ठक्कर दिएको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार एम्बुलेन्सको ठक्करबाट घाइते भएकाहरुलाई स्थानीयले तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याएपछी बिहान ५:३४ बजे कमला नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक अर्घाखाँचीको पाणीनी गाउँपालिका ७ का नारायण बहादुर गव्तार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




