काठमाडौं । काठमाडौं टोखा नगरपालिका १० गोंगबु बस्ने खोटाङ मजुवागढि नगरपालिका १ घर भई नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंको बालाजु, जरंखु, मनमैजु लगायतका सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्दै आएका भक्तपुर चाँगुनारायण घर भएका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर घर भएकी १८ वर्षीया किशोरी रहेकी छिन् ।
यस्तै स्याङ्जा आधीखोला घर भएकी २१ वर्षीया विपनारबसन्ती भन्ने बसुन्धारा कार्की तथा ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट ताती घर भएका २१ वर्षीय बुद्द लामा तामाङ, सिन्धुपाल्चोक ईन्द्रावती घर भएका ३० वर्षीय दोर्जे भन्ने अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षीय नाबालक रहेका छन् ।
प्रहरी जवान घिमिरेको काठमाडौं तारकेश्वर नगरपालिका ९ मनमैजु बासुकी नाग टोलस्थित निर्माणाधीन घरमा शव फेला परेपश्चात प्राविधिक विश्लेषण तथा अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका १६ स्थित बाईस धारा जंगलबाट पक्राउ गरेको हो ।
ड्युटी सकेर घर जाने क्रममा तारकेश्वर नगरपालिका ११ स्थित खाजा घरमा भेट भएका पूर्व परिचित सचिन र १८ वर्षीया किशोरीले बिरामी भएकोले आश्रयस्थल पुर्याईदिने बहानामा घटनास्थलमा लगी अन्य अभियुक्तहरूको सहयोगमा रड, इँटा समेतको प्रयोग गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
लुटपाट तथा महिलासँगको विवाद लगायतका कारण हत्या भएको हुन सक्ने तर्फ अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।




