सर्लाही । सर्लाहीमा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सुरू भएको छ । मधेस प्रदेशको श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले शुक्रबार मलगंवा नगरपालिका ९ स्थित रहेको मङ्गलबाबा ट्रायल सेन्टरको उद्घाटन गरेपछि सवारी चालकको प्रयोगात्मक (ट्रायल) परीक्षा सुरू भएको हो ।
प्रयोगात्मक परीक्षा तथा ट्रायल सेन्टर स्थलको अनुगमन तथा उद्घाटन गर्दै मन्त्री लुङ्गेलीले यातायात व्यवस्था कार्यालय, सर्लाहीमा कार्यरत कर्मचारीहरूलाई सेवाग्राहीलाई छिटो र सहजरूपले सेवा प्रदान गर्न निर्देशन दिए ।
अहिले मधेस प्रदेशमा लिखित र ट्रायल परीक्षा नदिइकनै पैसा खर्च गरेर लाइसेन्स लिन पाइन्छ भन्ने मानसिकता व्यापक रहेकामा त्यसलाई निरुत्साहित गर्न पूर्णरूपमा प्रशिक्षित भएर सरकारको नियम पालना गर्दै मेहनतले लाइसेन्स लिन उनले सुझाव दिए ।
कार्यालयमा कर्मचारी र स्रोत साधनको कमी रहेको कुरालाई ध्यानमा राख्दै मन्त्री लुङ्गेलीले त्यसको हल गर्ने प्रतिवद्धता समेत जनाए । यातायात कार्यालय, सर्लाहीले गत जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र जारी प्रक्रिया सुरू गरेको छ ।
प्रयोगात्मक परीक्षा (ट्रायल) को सुरुवातको पहिलो दिन २४४ जना परीक्षार्थी सहभागी भएका थिए । उनीहरू जेठ २ र ३ गतेको लिखित परीक्षामा उत्तीर्ण भएर ट्रायलको लागि सहभागी भएका थिए ।
लाइसेन्स वितरण कार्य सुरू भएसँगै अब यस कार्यालयबाट सवारी चालक अनुमतिपत्र जारी तथा नवीकरण, सवारी किताब दर्ता तथा नवीकरण, रूट परमिट लगायतका सम्पूर्ण सेवा सुचारु भइसकेको छ ।
सोही अवसरमा स्कूटीको लाइसेन्सका लागि ट्रायलमा उत्तीर्ण गरेर पहिलो सेवाग्राही बन्न सफल जिल्लाकै चक्रघट्टा गाउँपालिका ५ की स्नेहाकुमारी मण्डललाई मन्त्री लुङ्गेलीले प्रमाणपत्र प्रदान गरेका थिए ।
यसअघि यातायात व्यवस्था कार्यालय सर्लाहीबाट लाइसेन्स वितरणको कार्य नहुँदा जिल्लाका हजारौं सेवाग्राही वीरगंज, लहान, जनकपुर, बर्दिबास र काठमाडौं समेत पुग्नु पर्ने बाध्यता थियो ।




