काठमाडौं । कलंकीबाट नैकाप नपुग्दै हाइवेबाट देव्रे गल्ली छिरेपछि ५ मिनेटकै दूरीमा छ ‘भिराडिल खाइके साकुरा’ पार्क । गाउँ र सहर दुवैतिरको मिश्रणजस्तो लाग्ने यस्तो रमणीय ठाउँ कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाको सिमानामा छ । यो ठाउँलाई अझ आकर्षक बनाउन चन्द्रागिरी नगरपालिकाले पार्क निर्माण लगायतका काम गरिरहेको छ ।

डरलाग्दो भीर भएपनि त्यसमा विकासको खाका बनाई मनमोहक बनाइएको छ । पारी हरियाली जंगल छ । जंगलबीच वरपर वन, वनमा चराचुरुङ्गीका चिरबिर आवाज । तल खोल्सामा खोलाको आवाजले वातावरणलाई मोहक बनाएको छ ।
टाढैबाट टक्क देखिने पिपलको पुरानो चौताराको छेउमा करिब ९० मिटर लामो झोलुङ्गे पुलसहित वरपर वनमा चराचुरुङ्गीका चिरबिरले आनन्दित बनाउने सुरम्य वातावरणलाई थप आकर्षक बनाउन डरलाग्दो खोँच र खोल्सालाई रचनात्मक प्रयोग गरिएको पार्क पूर्वाधार विकासको नमुना संरचना बनेको छ ।
काठमाडौंमै रहेकाले दिनभरिको थकाई होस् या विदाका दिन रमाउन आउनेहरु पनि उत्तिकै भेटिन्छन् यहाँ । युवायुवती, बालबालिकादेखि प्रौढसम्मका मानिसहरु यहाँ आउने गर्छन् । यस क्षेत्रमा स्वच्छ हावाको आनन्द लिएर रमाउँदै दिन विताउन सकिन्छ ।




