दाङ । दाङमा वडाध्यक्षमाथि त्रिशुल प्रहार भएको छ । राजपुर गाउँपालिका ५ का वडाध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार अपराह्न साढे ४ बजे एक युवकले कार्यकक्षमै त्रिशुल प्रहार गरेका हुन् ।
त्रिशुल प्रहारबाट वडाध्यक्ष विष्ट घाइते भएका छन् । उनलाई मंगलबार लमही अस्पताल पुर्याइएको थियो । त्यहाँ सामान्य उपचारपश्चात घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार वडाध्यक्ष विष्टको दाहिने कोखामा त्रिशुल प्रहार भएको हो । उनीमाथि त्रिशुल प्रहार गर्ने राजपुर ६ खयर भट्टीका २० वर्षीय विजय नेपालीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
पक्राउ परेका युवकले आफूलाई साधु दाबी गरेको प्रहरीले जनाएको छ । उनी ४/५ महिनायता बाबकुटी जंगलमा बस्दै आइरहेको पनि प्रहरीले बताएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




