काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्रीकेश तेलको ठगी धन्दाको पर्दाफास भएको छ । कपाल झर्न रोक्ने, चाँया हटाउने, नयाँ कपाल पलाउने, टाउको चिलाउन रोक्ने, कपाल सिल्की बनाउने जस्ता झुटा प्रचार गरेर ठगी गर्ने गरेको विभिन्न सञ्चार माध्याममा समाचार प्रकाशित भएपछि समाचार रोक्न पत्रकारलाई विज्ञापनको प्रलोभनदेखि समाचार नलेख्नेसम्मका धम्की दिन थालिएको छ ।
कपाल झर्न रोक्ने भन्दै औषधीय प्रयोजनमा निकै विज्ञापन गरेर चर्चामा रहेको श्रीकेश तेल नेपालमा अवैध रुपमा विक्री वितरण भएको समाचार प्रकाशित भएपछि श्रीकेश तेलका संचालक टिकाराम बुढाथोकीले आफ्ना कर्तुत लुकाउन विज्ञापन दिनेदेखि विभिन्न मान्छे प्रयोग गर्नेसम्मका काम गरि रहेका छन् ।
गणेश थापा नाम गरेका एक व्यक्तिले धम्कीपूर्ण शैलीमा भने‘ जथाभावी समाचार लेख्ने म पनि कुनै एक टेलिभिजनको जिएम हो । उनले म पनि पत्रकार हो भन्न पछि परेनन् । उनले धम्कीपूर्ण शैलीमा भने केही मिडियाहरू हाम्रो पछि लागेका छन्, अब मुद्दा हालेर ठिक पारिन्छ । धम्कीपूर्ण शैलीमा पत्रकारलाई धम्काउने र समाचार लेख्न रोक्ने उनको मानसिक्ता देखिन्थ्यो ।
त्यस्तै, उनले भने म पनि पत्रकार हुँ, समाचार कसरी लेख्नुपर्छ हामीलाई पनि थाहा छ । यस्ता पनि पत्रकार भन्दै उनले भौतिक आक्रमण गर्ने सम्मको धम्की दिन पछि परेनन् ।
यस्तै पछिल्लो समय वरिष्ठ कलाकारदेखि पूर्व राष्ट्रपति हुँदै प्रधानमन्त्री सम्मको हातमा देखिने यो तेल सम्बन्धित निकायबाट उत्पादन अनुमति समेत नलिई विक्री वितरण हुँदै आएको तथ्य भेटिएको छ ।
उत्पादक सप्तऋषी आयुर्वेद नामक आयुर्वेद अस्पतालले यो तेल उत्पादन र विक्री वितरण गर्दै आएको छ । प्रति बोत्तल ३ हजार रुपैयाँमा विक्री हुँदै आएको यो तेल वैज्ञानिक र प्रमाणित नहुँदै करोडौँको विक्री भइसकेको छ । तर, सरोकारवाला निकायले भने कुनै चासो दिएका छैनन् ।
दर्ता छैन औषधी व्यवस्था विभागमा
आयुर्वेद औषधालयका प्रमुख चिकित्सक डा रुपेन्द्र पुरीले यो तेल बारे आफूहरुलाई कुनै जानकारी नभएको र यो विषयमा धेरै बोली सकेको पनि बताए । कानुनी रुपमा औषधी व्यवस्था विभागमा दर्ता हुनुपर्छ तर सप्तऋशी आयूर्वेद नामको संस्था औषधि व्यवस्था विभागमा दर्ता नै भएको छैन ।
उनले भने, हामीले यहाँ दर्ता गरिसकेपछि उक्त संस्थाले के कस्तो औषधि उत्पादन गर्ने हो भनेर यसको चेकजाँच गर्ने हो । तर, यो संस्था विभागमा दर्ता नै नभएका कारण हामीलाई यस विषयमा जानकारी भएन । यसरी दर्ता नै नगरी सञ्चालन गरिनु सराशर अवैधानिक देखिन्छ । यस्ता अवैधानिक कार्य गर्नेलाई सरकारका सम्बन्धित निकायले कारवाहीको दाहेरामा ल्याउनु पर्छ ।
के भन्छ श्रीकेश उत्पादन गर्दै आएको सप्तऋशी आयुर्वेद संस्था
पछिल्लो समय श्रीकेश तेल एकदमै चर्चामा छ । यसको आधिकारिक विवरण भने अहिलेसम्म पत्ता लागेको छैन । हामीले यो तेल र यसको उत्पादन गर्दै आएको सप्तऋशी आयुर्वेद संस्थासँग यस बारे जानकारी लिन खोज्दा संस्था नै पन्छिने गरेको छ ।
‘हामी आधिकारिक हो ।’ टिकाराम बुढाथोकीका मेनेजर बताउने नवराज विश्वकर्माले भने- ‘तपाइहरू अफिसमै आउनुस् यतै कुरा गरौला फोनबाट कुरा गरेर मात्र हुँदैन । हामीले गर्ने ठाउँमा दर्ता गरेका छौं ।’ उनले अल्मलिदै भने- ‘अब त्यस्तो न्युजमा त खै अहिले के गर्नु यसो भेटेर गफ गरौला नि हुन्न ?’
काठमाडौंको मध्य बानेश्वरमा रहेको सप्तऋषी आयुर्वेद मूलत आयुर्वेद अस्पताल हो । आयुर्वेद अस्पतालले ओपीडि, ल्याब संचालन गरिरहेको बोर्ड टाँसेको छ । अस्पतालले आयुर्वेदिक तेल भन्दै चिकित्सकीय प्रयोजनका लागि भन्दै तेल विक्री गरिरहेको छ ।
प्रति बोत्तल ३ हजार रुपैयाँ असुली : करोडौँ भ्याट छली
उत्पादक कम्पनी सप्तऋषि आयुर्वेदले प्रति बोत्तल ३ हजार रुपैयाँ असुली गरिरहेको छ । तर, मूल्य निर्धारण कुनै निकायबाट नभई कम्पनीले आफै खुशी गरेको हो । यो तेल खरिद गर्दा खरिदकर्ताले भ्याट बिल समेत पाउँदैनन् । विभिन्न कम्पनिको नाममा प्यान बिल दिइन्छ ।
यसअघि पनि बुढाथोकीलाई लागेको थियो ठगीको आरोप
त्यसो त बुढाथोकीमाथि यसअघि पनि विभिन्न रोग ठीक पारिदिने भन्दै भ्रम फैलाएर औषधी विक्री गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी परेको थियो । तर, उनी कारवाहीबाट भाग्दै आएका छन् ।
कम्पनी म्यानेजर विश्वकर्मा भन्छन्,‘कस्मेटिक डाक्टरले पुष्टि गर्नुभएको छ’
यता कम्पनीका म्यानेजर बताउँने नवराज विश्वकर्माले कस्मेटिक डाक्टरको टिमले पुष्टि गरेपछि उक्त तेल उत्पादन र विक्री भएको बताए । उनले सप्तऋषी आयुर्वेद घरेलुमा दर्ता भएको समेत बताए ।
यस्तै उनले दर्ताका लागि विभिन्न निकाय धाउने काम गरिरहेको समेत बताए । औषधी व्यवस्था विभागमा दर्ता नभएको उनले नै स्विकार गरे । तर, कम्पनलिे भने औषधीय प्रयोजनका लागि यो तेल विक्री गर्दै आएको छ । कम्पनीले औषधीय प्रयोजनका लागि कुनै पनि व्यवसाय गर्न नपाउने जानकारहरू बताउँछन् ।




