काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका ७ नं. वडा कार्यालय फलाँटेबाट ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षाभत्ता आफू खुसी दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको हुँदा छानविन र अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
वडाअध्यक्ष रमेश खरेल र वडासचिव राम प्रसाद बडाल समेतको मिलेमतोमा सोही वडाकी ७६ वर्षीया विष्णुलक्ष्मी खरेलले आ.व. २०७६/०७७ साउन महिनादेखि नियमति रुपमा पाउँदै आएको वृद्धभत्ता साउनदेखि नपाएको विषयमा गत असोजमै गुनासो गर्नुभएको थियो ।
रोकिएको वृद्धभत्ता रकम एकमुष्ट आउने भन्दै अल्मल्याउँदै आर्थिक वर्ष सकिन लाग्दा पनि उपलब्ध गराउनेतर्फ कुनै पहल नभएपछि बाध्य भएर अख्तियारमा उजुरी हालेको वृद्धा विष्णुलक्ष्मीले बताउनुभयो ।
८१ साल जेठ २५ गते दर्ता भएको उजुरी नम्बर सी–०७७३२६ रहेको छ । वृद्धभत्ता नविकरणका लागि श्रीमती विष्णुलक्ष्मी र उहाँको पतिको कार्ड, फोटो र आवश्यक कागजातहरु एकैसाथ वडाअध्यक्षलाई बुझाएकोमा विना आधार र कारण वृद्धभत्ता उपलब्ध नगराएकोमा अख्तियारको ध्यानाकर्षण गराइएको छ ।
साथै, वडासचिव बडाललाई कार्यालयमा भेट्न मुस्किल हुने समेत गुनासो रहेको छ । वडाअध्यक्ष र वडासचिवले नियतवश नाम कटाई वृद्धभत्ता रकम दुरुपयोग गरी आर्थिक हिनामिना गर्नुभएकोले उहाँहरुबाट आफ्नो जिम्मेवारी निर्वाह नगरी वृद्धा अवस्थामा पुगेको व्यक्तिलाई मानसिक यातना र असामाजिक व्यवहार गरेको उजुरीमा उल्लेख छ ।
मृतक तथा बसाइसराइ गर्ने व्यक्तिहरुको नाम सामाजिक सुरक्षाभत्ता पाउने सूचीबाट हटाउनु पर्नेमा निजहरुको यथावत राखी भ्रष्टाचार गर्ने मनसायले नियमित रहेकाहरुको सामाजिक भत्ता निकासा नभएको सम्बन्धमा अख्तियारले छानविन अघि बढाउने जनाएको छ ।
आफ्नो वडाभित्र सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिहरुको अभिलेख राख्ने र नियमित गर्ने दायित्व र कर्तव्य निर्वाह नगर्दा वृद्धवृद्धाहरुले सास्ती व्यहोर्दै आएका छन् ।




