दाङ । दाङमा चना अड्किएर ३ वर्षे बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार चना खाने क्रममा घाँटीमा अड्किएर उनको मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका ३ वर्षीय राजेन्द्र घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
घर्ती बुधबार विद्यालयबाट घर आएपछि पकाएको चना खाने क्रममा बेलुका ५ बजेतिर घाँटीमा अड्किएर निसास्सिएका थिए । त्यसपछि उनलाई उपचारका लागि तुलसीपुरस्थित सिटी अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको थापाले बताए ।
यसैगरी बबई नदीले बगाएर एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १४ मटेरास्थित बबई नदी तर्ने क्रममा बुधबार बिहान करिब ८ बजे १९ वर्षीया सम्झना चौधरीलाई बगाएको थियो ।
उनलाई खोजी गर्दै जाँदा दंगीशरण गाउँपालिका ४ स्थित बैबाङ बाँकी जोड्ने पक्की पुल नजिकै बबई नदी किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । आफन्तका घरमा जाने क्रममा उनी बगेकी थिइन् ।




