काठमाडौं । चितवनको नारायणगढ-मुग्लिङ सडक अन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज दिउँसो दुर्घटना भएको हो ।
भरतपुर महानगरपालिका २९ मा पर्ने भतेरीमा नारायणघाटबाट पोखरा जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल बोकेको ट्याङ्करको पछाडि ठोक्किँदा बसमा सवार १५ यात्री घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा लगिएको प्रवक्ता रिजालले बताए । घाइतेमध्ये एक जना गम्भीर र अन्यको अवस्था मध्यम रहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




