काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको विमान २१ वर्ष ४ महिनाअघि निर्माण भएको पाइएको छ । ५० सिट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान छैठौं किनबेचमा नेपाल ल्याइएको थियो ।
सौर्य एअरलाइन्सले यही एउटा विमानबाट आन्तरिक उडान भरिरहेको थियो । भएको एउटै विमान दुर्घटनामा परेपछि सो वायुसेवा प्रदायक कम्पनी अब विमानविहीन भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एअरलाइन्सको ९ एन-एएमई जहाज मर्मतसम्भारका लागि पोखरा जान लागेको थियो । तर, उड्ने बित्तिकै जहाज खसेको विमानस्थल स्रोतले जनाएको छ ।
विमानस्थलको रनवे ०२ बाट उडेको जहाज रनवे २० को पूर्वी साइडमा जहाज दुर्घटनामा परेको हो । विमानमा चालक दलका २ सदस्यसहित १९ जना एयरलाइन्सकै टेक्निसियनहरू सवार थिए ।




