मोरङ । उत्तरी मोरङको पर्यटकीय क्षेत्र मिक्लाजुङ गाउँपालिकाको रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् । घाइते मध्ये छोरी बेलबारी १ की ११ वर्षीया सुस्मिना धिमालको उपचारका क्रममा मृत्यु भएको छ ।
शनिबार दिउसो करिव सवा ३ बजेतिर मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ झण्डे डाँडाको घुमाउरोमा मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार मोरङको बेलबारी १ का ३७ वर्षीय सुनिलकुमार धिमाल, उनकी ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल र १३ वर्षीय छोरी सुस्मिना धिमाल घाइते भएका थिए ।
सुरक्षा प्रहरी बेस क्याम्प मिक्लाजुङले घाइतेहरुलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको हस्पिटल पुर्याएको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार गम्भीर घाइते सुस्मिनाको उपचारका क्रममा २:४५ बजे मृत्यु भएको हो ।
प्रहरीका अनुसार रमिते टाँडी भित्रि सडक खण्डमा बा २७ प १८३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ७० फिट तल झरेको थियो । बालिकाको शवलाई पोस्टमार्टमको लागि उर्लाबारी ३ मङ्गलवारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ ।




