दोलखा । दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर ६ पाटागाँउमा घर भित्रै मृत भेटिएका वृद्धाको हत्या बास बस्न आएका छिमेकी गाँउका युवाले गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
गत साउन १० गते आफ्नै घर भित्र मृत भेटिएकी ७५ वर्षिया पदमकुमारी सुनुवारको हत्या बास बस्न आएका छिमेकी गाँउ कालिञ्चोक गाँउपालिका वडा नम्बर ४ नर्मीका करिब २२ वर्षिय विक्रम कार्कीले गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
बृद्धा सुनुवार आफ्नै घरमा मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय दोलखाले बागमती प्रदेश कार्यालय हेटौडाबाट केनाईन टोली माग गरी घट्ना स्थलको अनुसन्धानमा कुकुरको सहायतामा गरिएको थियो । कुकुरले अभियुक्त युवकको घर जाने बाटोसम्म पुर्याउन सहयोग गरेको प्रहरीको भनाई छ ।
अनुसन्धानको क्रममा छिमेकीले मृतकको घर टोलमा आएका युवाको हुलिया र उनले नर्मी घर बताएको भनी दिएको जानकारीको आधारमा वडा नम्बर ४ नर्मीका रमेश कार्कीको छोरा विक्रम कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।
श्रीमानको निधन भइसकेकोले मृतक सुनुवार घरमा एक्लै बस्दै आएको र तल अर्को घरमा बस्ने बुहारी र नाति पनि अर्को गाँउमा जन्मदिनको कार्यक्रममा गएकोले साउन ९ गते उनी एक्लै भएको प्रहरीले जनाएको छ ।




