काठमाडौं । धन कमाउन साउदी अरब पुगेका ३० जना नेपाली अहिले कमाएको पैसाको ठूलो हिस्सा पानी खानकै लागि खर्च गर्न बाध्य बनेका छन् । कम्पनीले आवश्यक व्यवस्था नगरिदिँदा रातदिन काम गर्न आउने तलबको आधा त त्यही पानी किन्नमै खर्च हुने गरेको बताउँछन् । खाना समेत पेट अघाउन्जेलसम्म खान नसकिने अवस्था रहेको पीडितहरू बताउँछन् ।
आफूले भरपेट खान थाल्यो भने नेपालमा आश्रित परिवार भोकै सुत्नुपर्छ । त्योभन्दा ठूलो समस्या ऋण दिने साहूको बढी टेन्सन हुन्छ । लामो समयदेखि पर्याप्त मात्रामा पानी समेत खान नपाएर बिरामी पर्न थालेपछि उनीहरूले उद्धार गरेर नेपाल फकाईदिन हारगुहार गरेका छन् ।
उनीहरुले उद्धारका लागि साउदीस्थित नेपाली महावाणिज्य दूतावास, वैदेशिक रोजगार विभाग तथा मेनपावर कम्पनीलाई पटक पटक अनुरोध गर्दै आएका छन् । तर, हालसम्म उनीहरूको समस्या समाधान हुन सकेको छैन ।
पर्याप्त पानी खान नपाएर एक नेपालीको सुतेकै अवस्थामा ज्यान समेत गइसकेको उनीहरूको भनाइ छ । त्यही कम्पनीमा काम गर्ने दोलखाका ४३ वर्षीय टहल बहादुर थामी सुतेकै अवस्थामा ओछ्यानमा मृत फेला परेका थिए । निधन भएको एक महिना ३ दिन बितिसक्दा पनि उनको शव नेपाल पठाइएको छैन ।
आफूसँगै एउटै कम्पनीमा काम गर्ने साथीको मृत्यु भएपछि अन्य नेपाली थप आत्तिएका छन् । साउदी पुगेदेखि नै उनी गाह्रो काम गर्थे । तलब समेत थोरै थियो । जसले गर्दा उनी विदेश गएदेखि नै चिन्तित देखिन्थे । उनीसँग पैसा नभएर धेरै दिनदेखि पानी किनेर खान पाएका थिएनन् ।
पीडित नेपाली काठमाडौंको सिनामंगलमा रहेको न्यू एसभी इन्टरनेशनल प्रालि र सामाखुसीमा रहेको अल अमल ओभर्सिज प्रालिबाट सात महिना अघि वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए ।
नेपालमा गरेको करार सम्झौतामा साउदीको अल मदिना कन्स्ट्रक्सन कन्ट्रयाक्टिङ कम्पनीमा काम गर्ने भनिएको छ । करार सम्झौता पत्रमा पारिश्रमिक मासिक बेसिक नै एक हजार साउदी रियाल भनिएको छ । त्यसमा खान बस्न भत्ता ३०० रियाल गरी १३ सय हुने म्यानपावरले आफूहरूलाई विश्वास दिलाएर चर्को रकम असुलेको उनीहरू बताउँछन् ।
आतेजाते टिकट कम्पनीले उपलब्ध गराउने, भिसा शुल्क नलाग्ने, म्यानपावरको सेवाशुल्क कामदारले सरकारले तोकेको अनुसार मात्रै तिर्नुपर्ने उल्लेख छ । सरकारले साउदी जान १० हजार रूपैयाँ सेवा शुल्क तोकेको भएपनि आफूले म्यानपावरलाई २ लाख ५० हजार बुझाएको पीडितहरू बताउँछन् ।
त्यस्तै, श्रमिकहरूको बीमा समेत नगरी काम लगाएका कारण उपचारमा समस्या देखिएको, श्रमिकहरू बिरामी भएर उपचार गर्नुपर्ने अवस्थामा उनीहरूको कमाइले नधान्ने अवस्था रहेको कन्सुलेट नजरलले औंल्याएको छ ।
गत असार १६ गते कन्सुलेटले विभागलाई लेखेको पत्रमा त्यहाँ एक जनाको मृत्यु भएको र एक जना श्रमिक मात्रै भागेको उल्लेख छ । कन्सुलेटले सम्बन्धित म्यानपावरलाई जबाफदेही बनाउन वैदेशिक रोजगार विभागलाई आग्रह गरेको छ ।





