काठमाडौं । चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा परेर विपत् व्यवस्थापन गण रसौली ब्यारेकमा कार्यरत एक जना सिपाहीको मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर १ पोखरा बसपार्क स्थित स्वामी चोक नजिक मंगलबार साँझ ७:३० बजेको समयमा रामनगर तर्फ जाँदै गरेको बा प्र ०१-०२८ च ३२८९ नम्बरको कारमा विपरित दिशाबाट आउँदै गरेको ग २० प ८३१८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार सिपाहीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका १२ बस्ने २७ वर्षीय निगम नेपाली सार्की रहेका छन् । त्यस्तै उनीसँगै मोटरसाइकलमा सवार तनहुँको बन्दिपुर गाउँपालिका वडा नम्बर ३ का २६ वर्षीय दिनेश थापा गम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएकोमा सार्कीको उपचारको क्रममा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
मोटरसाइकलको लेगाडले कारमा लाग्दा मोटरसाइकल अनियन्त्रित भई छेउमा रहेको पर्खालमा ठोक्किन पुगेको थियो । कार चालक धादिङको धुनिबेसी नगरपालिका ७ बस्ने ४२ वर्षीय राजु भण्डारी र कार जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको छ ।




