काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको हो । घटेको मूल्य बिहिबार बिहान एक बजेबाट लागू हुनेछ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमले पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटाएको छ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेलको मूल्य १५७ रूपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको भाउ भने यथावत् राखिएको छ ।




