काठमाडौं । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इभेन्ट्स तथा एक्जीबीसन एण्ड ट्रेड सर्भिसेस इण्डियाको सयुक्त आयोजनामा यही भदौ २१, २२ र २३ गते काठमाडौंको भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ ।
तेस्रो पटक आयोजना हुन गइरहेको यस प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने छन् । यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवम् नवीनतम् प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवम् कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार आफनै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाइ देशलाई आर्थिक रूपमा सबलीकरण गर्दै लैजाने एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना हुनेछ ।
विद्युतीय उपकरणहरुलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवम् यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।
नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी अन्तर्गत दशैंको अवसर पारेर ग्राहकहरुले विभिन्न कम्पनिका विधुतीय सामाग्रीहरु एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउने हुँदा यस प्रदर्शनीमा आउने समस्थ व्यक्तिहरुले लाभ उठाउन सकिने आयोजकको दाबी छ ।
नेपालको बजारमा चाड पर्वको बेलामा विभिन्न नयाँ विधुतीय सामानहरु खरिद गर्ने चलन रहेको तथा नेपालीहरुको महान पर्व दशैंको केहि हप्ता अगाडि आयोजना हुने यस प्रदर्शनीले ग्राहकहरुलाई आकर्षित गर्ने कुरामा आयोजकले विश्वास लिएका छन् ।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवम् सूचना प्रविधि तथा विद्युतीय एवम् वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्व बारे जानकारी अद्यावधिक गराउन सहयोग पुयाउने लक्ष्य यस संस्करणको रहेको आयोजकले जनाएको छ ।




