जनकपुरधाम । मधेश प्रदेशका थप चार स्थानीय तहमा बाढी प्रभावितका लागि संघीय सरकारद्वारा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम विस्तार गरिएको छ । विश्व बैंकको सहयोगमा उक्त कार्यक्रम विस्तार गरिएको हो ।
मधेश प्रदेशको चार वटा जिल्लामा सो कार्यक्रम कार्यान्वयनमा थियो । हालै धनुषा र महोत्तरीको बाढी प्रभावित गाउँपालिकाका गरिब तथा विपन्न किसानलाई लक्षित गरी कार्यक्रम विस्तार गरिएको हो ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर एकाइ धनुषाका वरिष्ठ कृषि विकास अधिकृत युगलकिशोर तिवारीका अनुसार महोत्तरीको सम्सी, सोनमा र धनुषाको वटेश्वर तथा जनकन्दनी गाउँपालिकामा कार्यक्रम विस्तार गरिएको छ ।
दोस्रो चरणमा छनोट भएका उक्त पालिकामा यही साउनदेखि कार्यक्रम कार्यान्वयनमा आइसकेको छ । यसअघि पहिलो चरणमा धनुषाका मुखियापटी मुसरनिया, धनौजी तथा महोत्तरीको पिपरा एकडारा गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको वरिष्ठ कृषि अधिकृत तिवारीले बताए ।
सप्तरी तथा सिरहामा पनि कार्यक्रम सञ्चालन भइरहको छ । कार्यक्रम विश्व बैंकको अनुगमन, खाद्य तथा कृषि संगठनको प्राविधिक सहयोग, ग्लोबल एग्रिकल्चर फुड सेक्युरिटी कार्यक्रमको आर्थिक सहयोगमा संघीय सरकारले ल्याएको उनले जानकारी दिए ।




