काठमाठौं । रुपन्देहीमा तीन वटा सवारी साधन आपसमा ठोक्किँदा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । सोमबार राति बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बोलेरो जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको नम्बर नखुलेको मोटरसाइकल र मुर्गियाबाट बुटवलतर्फ आउँदै गरेको स्कुटर आपसमा ठोक्किँएको थियो ।
दुर्घटनामा २७ वर्षीया युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क घर भई हाल बुटवल उपमहानगरपालिका ११ देविनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठ रहेकी छिन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँका अनुसार युवती लु ८७ प ४५७३ नम्बरको स्कुटरमा सवार थिइन् ।
मुर्गियाबाट बुटवल तर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल उपमहानगरपालिका १२ शान्तीचोकमा नम्बर नखुलेको मोटरसाइकलले सुरुमा ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर लु १ च ६७८३ नम्बरको बलेरो जिपमा ठोक्किँदा युवतीको मृत्यु भएको हो । दुर्घटना परी गम्भीर घाइते भएकी श्रेष्ठको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।




