काठमाडौं । गत बिहिबार भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको दुर्घटना बारे ट्रक चालकले थाहै नपाएको छानबिन समितिले निष्कर्ष निकालेको छ । प्रहरीले उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वमा गठन गरेको समितिले मंगलबार बुझाएको प्रतिवेदनमा ट्रक चालकले आफूले स्कुटर नै नदेखेको बयान दिएको उल्लेख गरेका छन् ।
ना ६ ख २१७३ नम्बरका ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका २ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठसँग समितिले सोधपुछ गरेको थियो । त्यस क्रममा आफूले स्कुटर नदेखेको र केही पछि मात्रै चक्काले केही वस्तु घिसारे जस्तो लागेपछि लुकिङ ग्लास हेर्दा दुर्घटना भएको थाहा पाएको बयान दिएका छन् ।
त्यसपछि ट्रक नै रोकेको उनले बयानमा खुलाएका छन् । दुर्घटना हुँदा ट्रकभन्दा पछाडि आइरहेको अर्को गाडीका चालकसँग पनि समितिले सोधपुछ गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरण बज्रचार्यले बताइन् । ती चालकले पनि दुर्घटना भएपछि मात्र स्कुटर देखेको बयान दिएका छन् ।
दुर्घटनापछि डरले आफू फरार भएको चालकले बयान दिएका छन् । बिहिबार दिउँसो १:४० बजे श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिँदा बा ४९ प ८९४४ नम्बरको स्कुटरका चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।




