काठमाडौं । रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेको ग २ ख ४७ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको छ । तनहुँको मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाको उद्धार नसकिँदै चितवनमा शुक्रबार दिउँसो अर्को बस दुर्घटना भएको हो ।
चितवनको भरतपुर महानगरपालिका २९ सत्र किलो भन्ने स्थानमा माथिबाट ढुंगा खसेर चालक अत्तालिएको र बस अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए ।
उनका अनुसार हालसम्म १९ जना घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ । ९ जनाको भरतपुरको सरकारी अस्पताल र १० जनाको पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बसमा करिब ३५ यात्रु रहेको अनुमान गरिएको र घाइतेलाई उद्धार गरी अस्पताल लैजाने कार्य जारी रहेको डीएसपी रिजालले बताए । बस सडकमै पल्टिएकाले अहिले सडक एकतर्फी मात्रै संचालनमा रहेको र दुई तर्फी खुलाउने प्रयास जारी रहेको उनले बताए ।




