धनकुटा । धनकुटाको साँगुरीगढी ६ मुक्तेनमा पिकअप गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा साँगुरीगढी ६ का ३८ वर्षीय निरबहादुर मगर रहेको प्रहरीले जनाएको छ ।
मगरको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । मुक्तेनबाट नाम्जेतर्फ जाँदै गरेको को २ च ११०५ नम्बरको पिकअप शुक्रबार राति ९:१५ बजे दुर्घटनामा परेको प्रहरीको भनाई छ ।
पिकअपमा सवार ३४ वर्षीय राजकुमार मगर, ३९ वर्षीया मिना मगर र उनकी ६ वर्षीया छोरी श्रेया मगर घाइते भएका छन् । घाइतेहरुको उपचार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
पिकअपका चालक उदयपुरका अमिर मगरलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ । उक्त गाडी सडकबाट करिब ७० मीटर तल खसेको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज रमेश प्रधानले जानकारी दिए ।




