काठमाडौं । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजा अनुसार, ११ वटा उपमहानगरपालिकामध्ये बुटवल उपमहानगरपालिका उत्कृष्ट स्थानमा रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार, बुटवल उपमहानगरपालिकाले ८७.७५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो ।
आर्थिक वर्ष २०७९/८० मा बुटवल उपमहानगरपालिकाले शीर्ष स्थान पाउँदा हेटौंडा उपमहानगरपालिकाले ८६.५० अंकसहित दोस्रो स्थान पाएको छ, जबकि घोराही उपमहानगरपालिका ८५.२५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन तथा सहकार्य र समन्वय लगायतका मापदण्डमा आधारित मूल्यांकनमा, घोराही उपमहानगरपालिका तेस्रो स्थानमा आएको हो ।
त्यसैगरी, धनगढी उपमहानगरपालिकाले ८२ अंकसहित चौथो स्थान प्राप्त गरेको छ, भने कलैया उपमहानगरपालिकाले ८१.५५ अंकसहित पाँचौं स्थान ओगटेको छ । इटहरी उपमहानगरपालिका ७९.२५ अंकसहित छैटौं स्थानमा छ र तुल्सीपुर उपमहानगरपालिका ७६ अंकसहित सातौं स्थानमा रहेको छ ।
धरान उपमहानगरपालिका ७०.७५ अंकसहित आठौं स्थानमा छ, भने नेपालगञ्ज उपमहानगरपालिका ६४.६५ अंकसहित नवौं स्थानमा रहेको छ । दशौं स्थानमा रहेको जितपुर सिमरा उपमहानगरपालिकाले ६४.५० अंक प्राप्त गरेको छ ।
सबैभन्दा कमजोर प्रदर्शन जनकपुर उपमहानगरपालिकाले गरेको छ, जसले ५९.५० अंक मात्र प्राप्त गरेको छ । उपमहानगरपालिकाहरूको सन्दर्भमा, मधेश प्रदेशका पालिकाहरूको कमजोर प्रदर्शन देखिएको छ, जसमा वीरगञ्ज महानगरपालिकाले ५९.५० अंक मात्र प्राप्त गर्दै कमजोर प्रदर्शन गरेको हो ।
महानगरपालिकाहरूको सन्दर्भमा, ललितपुर महानगरपालिकाले ८४.५० अंक प्राप्त गर्दै अब्बल ठहरिएको छ । यस्तै, भरतपुर महानगरपालिकाले ८३.८३ अंक, विराटनगर महानगरपालिकाले ८२.५० अंक, पोखरा महानगरपालिकाले ८०.७५ अंक, र काठमाडौँ महानगरपालिकाले ७७.५० अंक प्राप्त गरेका छन् । स्वमूल्यांकनमा वीरगञ्ज महानगरपालिकाको प्रदर्शन सबैभन्दा कमजोर रहेको छ ।
देशभरका नगरपालिकाहरूको मूल्यांकनमा, नीलकण्ठ नगरपालिका धादिङले ९२.५० अंकसहित पहिलो स्थान हासिल गरेको छ । यस्तै, तिलोत्तमा नगरपालिका ९२ अंकसहित दोस्रो स्थानमा र रत्ननगर नगरपालिका ९१.५० अंकसहित तेस्रो स्थानमा रहेको छ ।
गाउँपालिकाहरूको मूल्यांकनमा, बेनिघाट रोराङ ८७.२५ अंकसहित पहिलो स्थानमा रहेको छ, जबकि रुरुक्षेत्र गाउँपालिका ८७ अंकसहित दोस्रो र इन्द्रावती गाउँपालिका ८७ अंकसहित तेस्रो स्थानमा रहेका छन् । यी पालिकाहरूलाई सम्मान प्रदान गर्न मन्त्रालयमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो ।




