काठमाडौं । पूर्वपश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका १९ नेवारीपानीमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । चितवनतर्फबाट हेटौंडा आउँदै गरेको वाप्र ०३-००१ ख २०८६ नम्बरको ट्रकले बाप्र ०२-०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अभिषेक सुवेदीको मृत्यु भएको हो ।
हेटौंडाबाट मनहरीतर्फ गइरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा चालक घाइते भएका थिए । हेटौंडा उपमहानगरपालिका ९ का २५ वर्षीय सुवेदीको हेटौंडा अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक चन्द्रप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




