उदयपुर । उदयपुरको कटारी नगरपालिका १० स्थित सोरुङ छविसेमा आमा र छोराको हत्या घटनाको अनुसन्धानमा प्रहरीले काम गरिरहेको छ । घटनाको २४ घण्टा बितिसक्दा पनि मृतकका परिवारबाट प्रहरीमा कुनै उजुरी दर्ता भएको छैन ।
बिहिबार बिहान ४० वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुस थापा मृत अवस्थामा फेला परेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय कटारीको टोली घटनास्थल पुगेको थियो ।
मृतकहरूको शवको सर्जमिन मुचुल्का गरी शव परीक्षणका लागि कटारी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कटारीका निमित्त प्रमुख प्रहरी निरीक्षक उमेश महतोले जानकारी दिए ।
बिहिबार साँझसम्म पनि पीडित परिवारको तर्फबाट प्रहरीमा कुनै जाहेरी दर्ता भएको छैन । घटनामा हत्या गरिएकी निर्मला थापाका श्रीमान् अशोक थापा दुई वर्षअघि दोस्रो विवाह गरेर भारततिर गएका थिए । अशोक थापाको दोस्रो विवाहपछि निर्मला आफ्नो छोरासँग गाउँमा वडा कार्यालय नजिकै पसल सञ्चालन गर्दै थिइन् ।
बिहिबार बिहान आमा र छोरा दुवै जना बेडमा घोप्टो परेर मृत अवस्थामा फेला परेका थिए, र उनीहरूको टाउकामा धारिलो हतियार प्रयोग गरी हत्या भएको देखिएको थियो । यो घटना देखेपछि गाउँलेले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए ।
घटनाको विस्तृत अनुसन्धानका लागि विशेष प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन चापागाईले बताए ।




