विराटनगर । सट्टेबाजीमा संलग्न रहेको आरोपमा विराटनगरमा दुई दाजुभाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार, विराटनगर महानगरपालिका १२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई उनीहरूको घरबाट पक्राउ गरिएको हो ।
प्रहरीले घरबाटै अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेको सूचना पाएपछि छापा मारेको थियो । छापामार्फत उत्कृष्ट अर्यालले प्रयोग गर्दै आएको मोबाइलमा ‘वान एक्स बेट’ लगायतका सट्टेबाजी एप्स डाउनलोड गरिएको पुष्टि भएको डिएसपी बस्नेतले बताए ।
उनले भने, “अनलाइन डिजिटल खाताबाट सट्टेबाजीमा आर्थिक लेनदेन हुने गरेको खुलासा भएको छ ।” घटनास्थलबाट कम्प्युटरको सिपियु, राउटर र मोबाइल जस्ता उपकरणहरु पनि बरामद गरिएका छन् ।
भदौ १८ गते पक्राउ परेका दाजुभाइविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सट्टेबाजीको अभियोगमा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।




