कैलाली । कैलाली धनगढी उप-महानगरपालिका बेली पुल नजिकै खुटिया नदीमा नुहाउने क्रममा दिदी बहिनी डुबेका छन् । धनगढी उप-महानगरपालिका १५ र ७ को बिचमा पर्ने बेली पुल नजिकै करिब १ बजे उनीहरु डुबेका थिए ।
धनगढी १४ जी गाउँका महादेव अवस्थीको १६ वर्षीया छोरी जेनिशा अवस्थी र १४ वर्षीया सवि अवस्थी नदीमा डुबेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । नदीमा नुहाउने क्रममा डुबेको खबर पाएपछि प्रहरीले खोजी कार्य जारी राखेको थियो ।
प्रहरी र स्थानीयले सविलाई पानीबाट निकाली उपचारको लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए । उनको अवस्था गम्भीर रहेको छ । दिदी जेनिशा अझै फेला परेकी छैनन् । उनको खोजी जारी गरेको प्रहरीले जनाएको छ ।




