काठमाडौं । चाडपर्वलाई ध्यानमा राखेर सहुलियत मूल्य पसल असोज ७ देखि छठसम्म सञ्चालन गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई यस्ता पसल खोल्न निर्देशन दिएको हो ।
सहुलियत पसल सञ्चालनको उद्देश्य उपभोक्तालाई चाडपर्वको समयमा अत्यावश्यक खाद्य र उपभोग्य वस्तुहरू सुलभ मूल्यमा उपलब्ध गराउनु रहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा यस्ता पसलहरू सञ्चालन गर्नेछ ।
सहुलियत पसलमा सबै प्रकारका चामलमा प्रति किलो पाँच रुपैयाँ छुट दिइनेछ भने कर्णालीका विशेष उत्पादन जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा र तितेफापरमा प्रति किलो सात रुपैयाँ छुटको व्यवस्था गरिनेछ ।
यस्तै, सबै किसिमका दाल र गेडागुडीमा प्रति किलो पाँच रुपैयाँ, गहुँको पिठो, चिउरा, चिनी, सनफ्लावर, भटमास र तोरीको तेलमा प्रति लिटर सात रुपैयाँ छुट दिइनेछ । डिडिसीको घ्यूमा प्रति लिटर १० रुपैयाँ छुटको व्यवस्था छ भने च्याङ्ग्रा, खसी र बोकाको मासुमा प्रति किलो १० रुपैयाँ छुट दिइनेछ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले काठमाडौं उपत्यकामा तीनवटा घुम्ती पसलसहित नौ स्थानमा यस्ता पसल सञ्चालन गर्नेछ, र उपत्यकाबाहेक २२ जिल्लामा पनि सहुलियत सुविधा उपलब्ध गराउनेछ। नुनमा प्रति किलो दुई रुपैयाँ, चिनीमा पाँच रुपैयाँ, तेलमा सात रुपैयाँ, चिउरा, पिठो र मैदामा सात रुपैयाँ छुट दिइने छ ।
दुग्ध विकास संस्थानले भदौ १ गतेदेखि कात्तिक मसान्तसम्म चाडपर्व लक्षित छुट योजना सञ्चालन गरिरहेको छ । यस्ता पसलहरूको व्यवस्थापन र आपूर्तिलाई सहज बनाउन गृह मन्त्रालय लगायत अन्य निकायहरूसँग समन्वय गरिएको छ ।
यस्तै, चाडपर्वको समयमा पेट्रोलियम पदार्थको आपूर्ति नियमित र सहज बनाउने निर्देशन नेपाल आयल निगमलाई दिइएको छ । सहुलियत मूल्य पसलले बजार मूल्य नियन्त्रण, गुणस्तरीयता कायम गर्ने र उपभोक्तालाई सहज रुपमा वस्तुहरू उपलब्ध गराउने उद्देश्य राखेको छ ।




