मोरङ । नेपाल-भारत सीमा नजिकको विराटनगर १५ मा सोमबार प्रहरीले एउटा कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । मोरङ प्रहरीले दिएको जानकारी अनुसार, विराटनगर महानगरपालिका १५ को २ नम्बर ढाटमा चेकजाँचको क्रममा बा ८ च ७८८० नम्बरको कारको पछाडि सिटमा लुकाइएको अवस्थामा ४३ किलो गाँजा फेला परेको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले कार नियन्त्रणमा लिएर तलासी गर्दा गाँजा फेला परेको बताए ।
गाँजा बरामद भएपछि प्रहरीले कार चालक विराटनगर १५ का ३२ वर्षीय गणेश चौधरी र सँगै रहेका विराटनगर १३ का २२ वर्षीय राजेश परियारलाई पक्राउ गरेको छ ।डिएसपी बस्नेतका अनुसार, पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान अघि बढाइएको छ ।




