काठमाडौं । क्यानडा पठाउने प्रलोभनमा १८ लाख ५३ हजार ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्ने व्यक्ति गोरखा आरुघाट गाउँपालिका १० स्थायी ठेगाना भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा बस्दै आएका ३४ वर्षीय रामहरि भण्डारी हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, भण्डारीले आकर्षक तलबको प्रलोभन देखाएर दुई जनालाई क्यानडा पठाउने भन्दै लामो समयसम्म झुक्याएका थिए ।
तर, विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए, जसको आधारमा उनलाई पक्राउ गरिएको हो । भण्डारीलाई सुन्दरीजलबाट पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा शुक्रबार नै पठाइएको जानकारी दिइएको छ ।




