वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्ममा रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व संकलन गरेको छ । भन्सार विभागले सो अवधिसम्ममा रु ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार संकलन गर्ने लक्ष्य राखेको थियो, तर यो लक्ष्यको ७१ प्रतिशत मात्र पूरा भएको कार्यालयले जानकारी दिएको छ ।
भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार, गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा झण्डै रु एक अर्बले बढी राजस्व संकलन भएको छ । गत वर्ष भदौसम्मको लागि रु ३५ अर्ब ४४ लाख ४२ हजारको लक्ष्य थियो, जसमा ७० प्रतिशत अर्थात् रु २४ अर्ब ५७ करोड ९२ लाख ५७ हजार मात्र संकलन भएको थियो ।
प्रशासक लामिछानेले यस पटक वीरगञ्ज भन्सार कार्यालयमार्फत सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको उल्लेख गरेका छन् । साथै, विद्युतीय सवारी साधनको आयातमा पनि वृद्धि भएको जानकारी दिएका छन् ।
गत साउनमा भन्सार विभागले रु १६ अर्ब ८६ करोड ८७ लाख राजस्व संकलनको लक्ष्य राखेको थियो, तर रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार मात्र संकलन हुन सक्यो । गत वर्षको साउनमा भने रु १८ अर्ब ७० करोड ४० लाखको लक्ष्य राखिएकोमा रु १३ अर्ब २३ करोड ९८ लाख मात्र संकलन भएको थियो ।




