काठमाडौं । मुग्लिङ-नारायणगढ सडक अन्तर्गत चितवनको भरतपुर २९ पन्ध्रकिलो भन्ने स्थानमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । मुग्लिङबाट नारायणगढ जाँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो र नारायणगढबाट मुग्लिङ आउँदै गरेको बा प्र ०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर ठोक्किँएको हो ।
उक्त सवारीहरु गएराति साढे ११ बजेतिर ठोक्किँएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । प्रहरीका अनुसार घाइते सबै माइक्रो बसका चालकसहितका यात्रु हुन् । दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई चितवन मेडिकल कलेजमा उपचार गराइएको छ ।
चार जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्याङ्कर चालक २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।




