काठमाडौं । सडक पहिरोले अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौं ल्याइँदै गरेका दुई जना बिरामीको एम्बुलेन्समै ज्यान गएको छ । बिरामी बोकेर काठमाडौंतर्फ जाँदै गर्दा वीपी राजमार्गमा रोकिएपछि उनीहरूको मृत्यु भएको हो ।
सिन्धुली अस्पतालबाट बा २१ च ७५२३ र महोत्तरीको बर्दिवासबाट ज १ च १७०८ नम्बरको एम्बुलेन्स बिरामी बोकेर काठमाडौंतर्फ आउँदै गर्दा वीपी राजमार्गमा रोकिएपछि उनीहरूको मृत्यु भएको सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए ।
डीएसपी खड्काका अनुसार सुनकोसी गाउँपालिका १ दुम्जामा बाढी र पहिरोका कारण चार दिनदेखि वीपी राजमार्ग अवरुद्ध हुँदा ९८ वर्षीया टीकाकुमारी भुजेल र ४५ वर्षीय मानबहादुर सिंजालीको ज्यान गएको हो ।
भुजेल दम रोगबाट पीडित थिइन् भने सिंजालीलाई मृगौला सम्बन्धी समस्या थियो । प्रहरीका अनुसार एम्बुलेन्सहरू बीच बाटोमै अड्किएपछि बिरामीहरूको मृत्यु भएको हो । शवसमेत फर्काउन सकिने अवस्था छैन । अहिले सिन्धुलीबाट राजमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेको जनाइएको छ ।




