काठमाडौं । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका १ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवैका चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका ८ बस्ने २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको बताए ।
उनकाअनुसार चौधरी से ६ प ६२७९ नम्बरको मोटरसाइकल र मल्ल बा ९५ प ९२५२ नम्बरको मोटरसाइकलका चालक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राति नै धनगढीको नवजीवन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरूको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
यस्तै, बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का २२ वर्षीया दीपक बोहोरा घाइते भएका छन् । उनको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।




