काठमाडौं । काठमाडौंमा स्रोत नखुलेको १९ लाख रुपैयाँसहित प्रहरीले दिदीभाइलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले सोमबार दिदीभाइलाई पक्राउ पश्चात सार्वजनिक गरेको हो ।
दोलखा विगु गाउँपालिका ४ स्थायी घर भई हाल काठमाडौं १४ कलंकी बस्ने ३५ वर्षीया सावित्री वलीलाई १५ लाख र सोही ठेगाना घर भई हाल काठमाडौं २३ न्युरोड बस्ने उनकै भाइ २५ वर्षीय सुरेश वलीलाई ४ लाख रुपैयाँसहित पक्राउ गरिएको हो ।
प्रहरी परिसरका अनुसार विशेष सूचनाका आधारमा उनीहरूलाई नगदसहित आइतबार नियन्त्रणमा लिइएको हो । सुरुमा काठमाडौं १४ कलंकीस्थित शंकास्पद कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोली उक्त स्थानमा जाँदा स्रोत नखुलेको १५ लाख रकम बैंकमा जम्मा गर्न बोकी हिँडेको अवस्थामा सावित्रीलाई पक्राउ गरिएको थियो ।
उनीसँग सोधपुछ गर्दा उक्त रकम भारतीय नागरिकको रहेको र आफू एक वर्षदेखि काठमाडौं २३ न्युरोडस्थित रहेको भारतीय नागरिकको अफिसमा काम गर्ने भनेपछि उनलाई साथमा लिई अफिसको चेकजाँच गर्दा उनको भाई सुरेशको साथबाट थप स्रोत नखुलेको ४ लाख रकम फेला परेको हो ।
उनीहरूको साथबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित विभिन्न बैंकका स्लिप पाँच वटा र एउटा मोबाइल पनि बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बरामद रकम र सामानसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




