मकवानपुर । भीमफेदी गाउँपालिका ४ र ६ को सिमाना, गोल्फिङबेंसी क्षेत्रमा बस दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । बुधबार साँझ करिब ७ बजे काठमाडौंको कोटेश्वरबाट जनकपुर जाँदै गरेको बस सडकबाट लगभग २० मिटर तल खसेको हो ।
स्थानीय युवा बादल सिलवालका अनुसार, दुर्घटनापछि स्थानीयले यात्रुहरूको उद्धारमा सक्रियता देखाएका थिए । उनले भने, “हामीले सबैलाई उद्धार गरेका छौं र पाँच जना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पठाएका छौं ।”
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पनि दुर्घटनाको जानकारी पाएको र प्रहरी निरीक्षकको नेतृत्वमा उद्धार टोली खटाइएको जनाएको छ । बसमा करिब ३५ जना यात्रु सवार रहेको र घाइतेहरूको स्वास्थ्य अवस्था थप जाँच भइरहेको छ ।




