बाँके । बाँकेको कोहलपुरमा एक पुरुषको टाउको नभएको शव फेला परेको छ । कोहलपुर नगरपालिका ८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितल नगरमा हत्या गरिएको अवस्थामा स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको शव फेला परेको हो । विजयादशीका दिन शनिबार उनको घाँटी रेटी हत्या गरिएको प्रहरीको अनुमान छ ।
राति करिब साढे १२ बजेको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय कोहलपुर र नजिकैको प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले चन्द्रबहादुरको टाउको अझै नभेटिएको जनाउँदै प्रहरी परिचालन गरेर टाउको र हत्याराको खोजी भइरहेको बताए ।
प्रहरीले टाउको बिनाको शवलाई आवश्यक प्रक्रिया पुगाएर पोष्टपार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ । प्रहरीका अनुसार घटनास्थलदेखि करिब २०० मिटर पूर्वमा रहेको सरस्वती चोकमा जडान गरिएको सीसीटीभी क्यामेरामा एक युवक कालो प्लास्टिकको झोला बोकेर गइरहेको देखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।




