डडेल्धुरा । मंगलबार राति डडेल्धुरामा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ, जसमा बैतडीको पुर्चौंडी नगरपालिका ३ तोलीगाउँका एउटै परिवारका चार सदस्य परेका छन् । मृतकमध्ये २० वर्षीया कमला बोहरा, उनका २२ वर्षीय श्रीमान् सहदेव बोहरा, ४५ वर्षीया आमा जैमती बोहरा र नवजात छोरा रहेका छन् । कमलाले केही दिनअघि मात्र छोरालाई जन्म दिएकी थिइन् ।
कमलाले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबार पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएपछि उनी, उनका श्रीमान् सहदेव र आमा जैमती खुशी थिए । अस्पतालले मंगलबार नै डिस्चार्ज गरेपछि उनीहरू पुर्चौंडी फर्किने क्रममा कञ्चनपुरबाट छुटेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बसमा सवार थिए ।
बस डडेल्धुराको अमरगढी नगरपालिका ७ खसरेखानमा दुर्घटनामा पर्दा कमला, उनका छोरा, श्रीमान् र आमा सबैको घटनास्थलमै मृत्यु भयो । यस दुर्घटनामा पुर्चौंडी नगरपालिका १० की ६० वर्षीया गोवणी महराको पनि ज्यान गएको छ ।
वडा अध्यक्ष खगेन्द्र बोहराका अनुसार, सहदेवका बुवा-आमाको यसअघि नै मृत्यु भइसकेको थियो । उनका दुई दाजुहरू भारतमा मजदुरी गरिरहेका छन् । सहदेव पनि गर्भवती श्रीमतीको स्याहार गर्न र दसैँ मनाउन केही समयअघि मात्र घर आएका थिए । दुर्घटनामा घाइते भएका १२ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पतालले धनगढी रेफर गरिसकेको छ ।




