काठमाडौं । एसएमएस मार्फत धम्की दिई पैसा माग गरेको आरोपमा सिन्धुपाल्चोक ज्यामिरे गाविस ८ निवासी, हाल कागेश्वरी मनोहरा नगरपालिका ८ बस्ने ३२ वर्षीय पदम उर्फ आकाश तामाङलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
तामाङले चिनियाँ नागरिकद्वारा सञ्चालन गरिएको Xishuan Yang Textile Pvt. Ltd. कम्पनीको म्यानेजरलाई एसएमएस पठाएर धम्की दिँदै रकम मागेका थिए । उनले रकम नदिए कम्पनीमा बम विस्फोट गरिदिने धम्की दिएका थिए ।
उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले तामाङलाई कम्पनीकै परिसरबाट पक्राउ गरेको हो ।
अनुसन्धानमा खुलेअनुसार, तामाङले असोज २१ गते राति अपरिचित नम्बरबाट एसएमएस पठाउँदै १ लाख ५० हजारदेखि २ लाख रुपैयाँ नदिए बम विस्फोट गराएर क्षति पुर्याउने धम्की दिएका थिए ।
तामाङ सो कम्पनीमा लेवरको रूपमा काम गर्दै आएका थिए । प्रहरीले उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीमा पठाएको छ ।




